Banner News

‘माओवादीले सर्वहाराको हितमा काम गर्ने हैसियत राख्दैन’



काठमाडौँ, १३ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको दोस्रो दिन सुरू भएको बन्द सत्रमा देशभरबाट भेला भएका प्रतिनिधिहरूबीच अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्न व्यस्त थिए।

सोमबार नेकपा माओवादी केन्द्रको महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानबाहिर अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदन सुनेर ८२ वर्षीय जेष्ठ प्रतिनिधि टेकनाथ न्यौपाने भन्दै थिए, ‘जनवादी केन्द्रीयताको आधारमा चल्नुपर्ने माओवादी पार्टीले बीचमा सही गति लिन सकेन। जनवादी केन्द्रीयताको आधारमा पार्टी चलेन भने यो पार्टी कहिल्यै सुध्रिन सक्दैन। यो महाधिवेशनले गल्तीहरू सुधारेर बाटो बिराएका वैद्य र विप्लवजस्तालाई नेतालाई समेत समेटेर अघि बढ्ने स्थितिको सिर्जना गर्न सक्नुपर्छ। तबमात्र यो बृहत् पार्टीको पुरानो अवस्थामा फर्कन सक्छ।’महाधिवेशनस्थल अध्यक्ष दाहालमय भइरहेको अवस्थामा उनलाई संगठन कस्तो होला भन्ने चिन्ताले सताएको प्रष्ट देखिन्छ। ‘नयाँ नेतृत्वले सबै वर्गलाई समावेश गर्नेमा आशावादी छु,’ उनले भने।

महाधिवेशनस्थलमा उभिएर प्रतिनिधि र कार्यकर्ताहरू फोटो खिच्न हतारिँदै गरिरहँदा सप्तरीबाट आएकी प्रतिनिधि रुवी कर्ण संगठनभित्र विचारको बहस हुन छाडेको अवस्थामा क्रान्तिका नारा लगाउनुको अर्थ नहुने गुनासो गरिरहेकी थिइन्। ‘यस महाधिवेनले नेतृत्व पुस्तान्तरणका लागि दबाब सिर्जना गर्नुपर्छ,’ उनले भनिन्, ‘कारण अहिले माओवादीको संगठनले सर्वहारा र श्रमजीवी वर्गको हितमा काम गर्ने हैसियत राख्दैन। पार्टीभित्र विचारको बहस हुन छाडेको अवस्थामा क्रान्तिका नारा लगाउनुको अर्थ हुन्छ रु समाजवाद स्थापित गर्नसक्ने नेतृत्व आवश्यक परेको छ।’ यो समाचार नागरिक दैनिकमा छ ।