राजनीति

नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता



काठमाडौँ, १३ पौष । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य उचारका क्रममा चीनको सेन्जेनमा रहेका स्थायी कमिटी सदस्य पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटका क्रममा उपमन्त्री झाओले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिएका छन । भेटपछि पुनले भने, ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो’

चिनिया उपमन्त्री झाओले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पनि चासो राखेका नेता पुनले बताए । एमसीसीबारे अध्ययनका लागि सत्तारुढ गठबन्धनले कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुने गरी सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए ।

१३ असोजमा उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका थिए । १० मंसिरयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि द्विपक्षीय भेटवार्तामा जुटेका हुन् ।