Banner News

प्रधानन्यायाधीश जबराको परिवारको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकिए



काठमाडौँ, १६ पौष । सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ ।

उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको हो । जबराले अकुत सम्पत्ति आर्जन गरेको र कसुरजन्य गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको भन्दै नागरिक अगुवाहरूले छानबिन माग गरेर आइतबार विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।डा. गोविन्द केसीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाएका नागरिक अगुवाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्बद्ध कसुर मानेका गैरकानुनी गतिविधिमा जबरा संलग्न भएको आरोप लगाएका छन् । जबराले आफूसहित श्रीमती, भाइ, परिवारका अन्य सदस्य तथा नातेदारमार्फत बिचौलियाको काम गराएको, उनीहरूको नाममा सम्पत्ति लुकाएको र गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेकाले उनीमाथि छानबिन हुनुपर्ने नागरिक अगुवाहरूको माग छ  ।

विभागले अहिले प्रधानन्यायाधीशका परिवारका सदस्य र सम्बद्ध व्यक्तिहरूमाथि अनुसन्धान र छानबिन गर्नेछ । पदमा रहून्जेल प्रधानन्यायाधीशमाथि भने विभागले छानबिन गर्न मिल्दैन ।