Banner News

चुनावसम्म पाँच दलीय गठबन्धन टुट्दैन : अध्यक्ष नेपाल



लमजुङ, १७ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् ।

लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यही गठबन्धनले स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धनसँगै हुनेछ । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’

उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङ्कित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।