समाचार

आजको मौसम



काठमाडौँ, २० पौष । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका धेरैजसो भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आज काठमाडौँमा बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ ।काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने बताइएको छ । बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।