धनगढी, २२ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको दावी गर्नुभएको छ ।
राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको भन्दै आक्रोस जनाउनुभयो । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विगत ३१ वर्षदेखि मुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई थाहा छ ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ । ललिता निवास मात्र होइन वाइडवडी जहाज खरीदजस्ता ठूला भ्रष्टाचारका काण्डमा सबै राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको छ । त्यसैकारण यी प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्री समेतका नेताहरुलाई जोगाइदैछ । अनेक प्रपञ्च गरिदैछ । उहाँहरुले देश बनाउँछु भनेको ३१ वर्ष भयो । तर म प्रश्न गर्न चाहन्छु के उहाँहरुले देश बनाउनुभएको छ ? छैन । देश बिग्रिएमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरुलाई कुनै फरक पर्छ ? पर्दैन । उहाँहरुले युवाहरुको भविष्य बिगारिरहनुभएको छ ।’










प्रतिक्रिया दिनुहोस्