Banner News

एमाले एक्लै चुनावमा लड्न सक्छ : अध्यक्ष ओली



काठमाडौँ, २३ पौष । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।

पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताए । उनले एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरे । उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह समेत गरेका छन् । ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताए । चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको उनले बताए ।

ओलीले अघि भने, ‘अहिले पनि एक्लै हामी मजबुत छौं । तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूर्ण शक्ति मिलेर प्रतिकुल परिस्थिति आउनसक्छ । सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकी यो आजको जनादेश होइन ।’ यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनले बताए । ओलीले अघि भने, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ । एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौं ।’