राजनीति

नेविसंघको नेतृत्व अवैधानिक भन्दै संस्थापनइतरले गरे भेला



काठमाडौँ, २६ पौष । नेपाल विद्यार्थी संघको नेतृत्व अवैधानिक भएको भन्दै संस्थापनइतर समूहले भेला गरेका छन् ।

उनीहरूले नेविसंघको १२ औं महाधिवेशन माग गर्दै आइतबार काठमाडौँमा भेला पनि गरेका थिए । नेविसंघ संकटमा रहेकोले अब १२ औं महाधिवेशन गर्नुपर्ने संस्थापनइतर समूहका नेताहरू बताउँछन् ।

भेलामा नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वसहमहामन्त्री ललिता सुनार, पूर्व केन्द्रीय सदस्यहरू प्रेमिका राना मगर, पुजन गन्धर्व, जानुका पन्त, रत्नहरि ढुंगेल,कास्की अध्यक्ष विक्रम आदित्य, दोलखा अध्यक्ष भीम खड्का, पूर्वी रूकुम अध्यक्ष सुमन बुढा मगर, मुगु अध्यक्ष धर्म शाही, त्रिवि समिति अध्यक्ष श्यामचन्द्र अधिकारी, जनमैत्री स्ववियू सभापति पंकज क्षेत्री, आरआर अध्यक्ष पुष्कर बास्तोला, सिटीभिटी अध्यक्ष महेन्द्र शाहीलगायत ५५ जना नेविसंघका नेताहरू उपस्थित थिए।

पार्टी केन्द्रीय सदस्य भएपछि भातृ संस्थाको पद स्वत: रिक्त भए पनि अध्यक्षमा राजिव ढुंगानाले छाडेका भने छैनन् । उनी १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापति शेरबहादुर देउवा निकट उनलाई तदर्थ समिति सभापति बनाइएको थियो । महामन्त्रीलगायत पदमा भने त्यसबेला नेताहरूबीच भागबन्डा गरेर नेतृत्व चयन गरिएको थियो । तत्कालीन निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ ढुंगाना नेतृत्वमा तदर्थ समिति मात्रै छ।