राजनीति

सर्वोच्च अदालतका न्यायाधीशसहित दुई दर्जनमा कोरोना संक्रमण



काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताउनुभयो ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेशी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ । आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने भएको छ ।

नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारीलगायत २० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।