काठमाडौँ, ५ माघ । ६ वर्ष निरन्तर नाफा कमाएको नेपाल आयल निगमलाई अहिले पेट्रोलियम पदार्थ खरिद गर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ । पछिल्लो समय निरन्तर घाटा बेहोर्नुपरेपछि निगम यो अवस्थामा आएको हो ।
निगमले विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरिरहेको थियो । सञ्चित बचत सबै शून्यमा झरेपछि निगम तेल खरिदका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । निगमसँगको सञ्चित बचत शून्यमा पुगेको अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने बाध्यता आएको छ ।निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार आईओसीलाई तेल खरिदका लागि २३ जनवरीमा भुक्तानी गर्न पनि रकम अभाव छ । सो मितिमा आईओसीलाई भुक्तानी गर्न करिब २ अर्ब रुपैयाँ अपुग हुने देखिएको सहप्रवक्ता कार्कीले जानकारी दिए ।
सहप्रवक्ता कार्कीका अनुसार यसअघि निगमले पेट्रोलियम पदार्थको कारोबारबाट भएको घाटा न्यूनीकरण गर्दै आपूर्ति व्यवस्था गर्दै आएको थियो । यसअघि बचतमा रहेको सञ्चित मुनाफा, मूल्य स्थिरीकरण, कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्याइराखिएको रकमबाट आईओसीलाई भुक्तानी गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्