राजनीति

मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच भेटवार्ता



विराटनगर, २२ माघ । प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच भएको भेटवार्तामा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केसलियाको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माण गर्ने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगन्ज पुलमा भएको क्षतिका कारण यस क्षेत्रका उद्योगी, व्यवसायीले ठूलो अप्ठेरो बेहोर्नुपरेको बताए । मन्त्री कार्कीले भने, “हरेक वर्ष पुल भासिने र ठूला मालवाहक सवारीसाधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनुपर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरिनुपर्दछ ।”

बिहारका उपमुख्यमन्त्री प्रसादले प्रदेश–१ सरकारसँग मिलेर आफूहरूले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । उठेका विषयलाई थप औपचारिक रूपमा दुई सरकारबीच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा समेत दिए ।