Banner News

जनसंगठनहरूको केन्द्रीय आकार दुईतिहाइसम्म घटाउँदै एमाले



काठमाडौँ, ४ फागुन । एमालेले पार्टीसम्बद्ध जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार दुईतिहाइसम्म घटाउने गरी निर्देशिका ल्याएको छ । एमाले केन्द्रीय सचिवालयले पारित गरेको यो निर्देशिकाअनुसार नौ वर्षदेखि महाधिवेशन नै नगरी नौजना अध्यक्ष फेर्ने राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको आकार ६ गुणा घटेर अबको महाधिवेशनबाट दुई सय ९९ जनामा झर्नेछ ।

त्यस्तै, अनेरास्ववियु, खेलकुद महासंघदेखि पार्टीमा आबद्ध २२ वटै जनवर्गीय संगठनको केन्द्रीय कमिटीको आकार आधादेखि दुईतिहाइसम्म खुम्चिनेछ । फागुनभित्रै अधिवेशन गर्ने तयारीमा रहेका जनसंगठनहरूले एमालेले ल्याएको निर्देशनअनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ । जसअनुसार बढी सदस्य भएका युवा संघ, अनेरास्ववियुलगायतका जनसंगठनमा १७ जनाको पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । तर, कम सदस्य भएका जनसंगठनहरूमा भने १७ सदस्यीय पदाधिकारीसहित एक सय ५१ जनासम्मको केन्द्रीय कमिटी बन्ने निर्देशिकामा उल्लेख छ ।

पार्टीले निर्देशिका पास नगर्दै युवा संघले १३ सय ५१ सदस्यीय केन्द्रीय कमिटीबाट चार सय पाँचजनाको महाधिवेशन आयोजक कमिटी बनाएको थियो । अब अहिलेको यो संख्यालाई पनि युवा संघले महाधिवेशनबाट कटौती गर्नुपर्नेछ । ०६८ सालयता एकपटक पनि महाधिवेशन नै नगरेको युवा संघले ‘टिके’ प्रणालीबाटै चारपटकसम्म केन्द्रीय कमिटी पुनर्गठन गरिसकेको छ । त्यसरी चारपटक पुनर्गठन हुँदा युवा संघको जिल्लामा सदस्य र पदाधिकारी रहेको कार्यकर्ताले केन्द्रीय कमिटीकै उपाध्यक्ष र सचिवसम्म नेतृत्व गर्ने अवसर पाएको छ भने टिके प्रणालीबाटै छानिएका सबैजसो अध्यक्ष एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

३३ सदस्यीय पदाधिकारीसहित पाँच सय ३४ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको अनेरास्ववियुको आकार पनि निर्देशिकाअनुसार झन्डै आधा घट्नेछ । विधानले १७ जनासम्म पदाधिकारी राख्ने भनेकाले अहिले रहेका आधा पदाधिकारी या बिदा हुनेछन्, या कतिपय पुरानै पदमा र कतिपय घटुवामा समेत पर्न सक्नेछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।