राजनीति

संशोधनबिना एमसिसी संसदबाट पारित गर्न दिन्नौं: पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसिसी सम्झौतालाई संशोधन बिना संसदबाट पारित गर्न नदिने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसिसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरू भएकाले संशोधन नगरी संसदबाट पारित गर्न नदिने स्पष्ट पार्नुभयो । एमसिसी सम्झौता केबल करार सम्झौतामात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उल्लेख गर्दै उहाँले सम्झौतालाई संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू नै प्रभावित हुने बताउनुभयो । यस्तै, एमसिसी सम्झौताले गठबन्धनलाई प्रभावित नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमसिसी सन्दर्भमा हाम्रो यसमा गम्भीर र गम्भीरतम् आपत्तिका कुराहरू छन्। यो राष्ट्रलाई घात गर्ने खालका पक्षहरू छन्। यी कुराहरू नसच्चिइकन, यिनीहरूलाई संशोधन नगरीकन हामी यसलाई पास गर्न दिँदैनौं । एमसिसी सम्झौता दुई देशबीचको भियना कन्भेन्सन अनुरूपको अन्तर्राष्ट्रिय सम्झौता होइन, यो करार सम्झौतामात्रै हो। करार सम्झौताहरूलाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गरिँदैन । गठबन्धनलाई कुनै ठेगानले छुँदैन। एमसिसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो । यो कुनै गठबन्धनको मुद्दा होइन। सिंगो नेपालको मुद्दा हो । नेपाली जनताको मुद्दा हो। सम्पूर्ण नेपाली जनताको अभिमत अनुरूप यो सवालमा टुंगोमा पुग्नुपर्छ तर जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतिको आधारमा बनेको यो गठबन्धन हो। यो गठबन्धनलाई यो सवालले छुनुपर्ने कुनै पनि आवश्यकता म देख्दिनँ ।’