Banner News

देश ठग्नेहरूलाई एकसाता भित्रमा कारबाही गर्छु : मन्त्री आले



काठमाडौँ, ९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूको विरुद्धमा एक साता भित्रमा कारबाहीको दायरामा ल्याउन लागेको बताउनुभएको छ ।

सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा कडा कदम चाल्न चृतावनी दिनुभयो । उहाँले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफुले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभूमिलाई साक्षी राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’