Banner News

राष्ट्रपति बाइडेनको चेतावनीः रुसले युद्धबाट हुने डरलाग्दो मानवीय क्षति लिनु पर्नेछ



काठमाडौँ, १२ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताउनुभएको छ ।

बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडेनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडेनको पछिल्लो भनाइ आएको हो ।

बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज राति सारा विश्वका नेताहरू युक्रेनी जनताको साथमा छन् किनभने उनीहरू रुसी फौजबाट बिनाकारण तथा कुनै उक्साहटबिनै भएको हमलाको सामना गर्न पुगेका छन् । राष्ट्रपति पुटिनले डरलाग्दो मानवीय क्षति एवं कष्ट निम्त्याउने गरी सुनियोजति युद्ध रोजेका छन् । आक्रमणबाट हुने मृत्यु र विनाशको जिम्मेवार रुस मात्रै हुनेछ । अमेरिका र उसका साझेदार एवं सहयोगीहरूले एक भएर दृढतापूर्वक जवाफ दिने छन् । विश्वले रुसलाई जवाफदेही बनाउने छ ।’