राजनीति

विप्लव र भीम रावलबीच भेटवार्ता



काठमाडौँ,१९ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुग्नुभएका विप्लवले एमालेका नेता रावलसँग भेट गर्नुभएको हो । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिइरहनुभएको छ । विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ ।

भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ । एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’