राजनीति

पूर्वमन्त्री विष्टद्वारा एकीकृत बस्ती हस्तान्तरण



गुल्मी, २६ फागुन । नेकपा एमालेको सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गर्नुभएको छ ।

मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद विष्टले हस्तान्तरण गर्नुभयो । गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको छ । घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् । स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आफै जग्गा प्राप्त गरेर ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिनुभयो । गाउँपालिकाका चार स्थानमा एकीकृत बस्ती निर्माणको काम भए पनि गाउँपालिकाले आफ्नै लगानीमा १७ घर निर्माण गरेको बताउनुभयो ।

सालझण्डी–ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । हाल भने उक्त समस्या समाधानको बाटोमा अगाडी बढेको छ ।