सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने बताएका छन् ।
आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताएका हुन् । उनले भने, ‘जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको छ त्यो लाज छोप्ने टालो हो,’ ‘एमसीसीसँग हाम्रो कुनै लेनादेना छैन ।’
अध्यक्ष लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ त ? भन्ने त्यो बेला नै थाह हुनेछ,’ उनले भने,‘ अहिले भ्रष्टाचार स्थानीय तहसम्म आइपुग्यो । भ्रष्टाचाररहित स्थानीय तहको विकास गराउनका लागि राप्रपा चुनाव लक्षित भएको छ ।’ साथै उनले राप्रपाले जितेका स्थानीयतहमा छुट्टै मोडालिटी तयार गरिने पनि बताए । ‘चुनावमा मत माग्दा हामी प्रतिबद्धता व्यक्त गर्नेछौं। उच्च माध्यमिक शिक्षा पूर्ण रुपमा निःशुल्क हुन्छ । न्युनतम रुपमा एक परिवार एक रोजगारको आधार सिर्जना गर्नेछौं भने भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि जितेका जनप्रतिनिधिहरूलाई सार्वजनिक मन्दिरहरूमा गएर भ्रष्टाचार नगर्ने संकल्प गराइनेछ’ लिङ्देनले भने ।










प्रतिक्रिया दिनुहोस्