काठमाडौँ, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ ।
आज नियमित पेसीको रुपमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाईका लागि पठाउने आदेश दिएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र निर्देशनविपरीत कामकारवाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । तर कारवाही हुँदा माधव कुमार नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी निर्माण गरिसकेको भन्दै पार्टी विभाजनपछि आएको कारवाहीलाई मान्यता दिन नसक्ने सभामुख अग्नीप्रसाद सापकोटाले बताएका थिए ।
त्यसैको विरोधमा एमालेले लामो समयदेखि संसद वैठकमा अवरोध गरिरहेको छ । आइतबारको सुनुवाईपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाईका लागि पठाउने आदेश दिएको हो । अब यो मुद्दाको अन्तिम किनारा पूर्ण इजलासले लगाउनेछ । पूर्ण इजलासमा तीन सदस्य रहनेछन् । बृहत पूर्ण इजलासमा पठाउने आदेश भएको अवस्थामा भने पाँच न्यायाधीशले यस मुद्दाको अन्तिम टुङ्गो लगाउनेछ ।










प्रतिक्रिया दिनुहोस्