Banner News

एमाले विभाजनविरूद्धको रिटमा चैत २० गते पूर्ण सुनुवाइ हुने



काठमाडौँ, २९ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीका सांसदमा सामेल गर्ने निर्णयविरूद्ध परेका रिटमाथि चैत २० गते पूर्ण (अन्तिम) सुनुवाइ गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका एमाले विभाजन सम्बन्धी छुट्टाछुट्टै तीन रिट आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले पूर्ण सुनुवाइमा पठाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

आदेशमा भनिएको छ, ‘यसमा लिखित जवाफ परिसकेको देखिएको र निवेदकबाट उठाइएका संवैधानिक तथा क़ानूनी प्रश्नहरूको निरूपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा चैत २० गते आइतबारको दिन पेसी तोकी पूर्ण सुनुवाइको लागि नियमानुसार गरी पेस गर्नु ।’