काठमाडौँ, ३० फागुन । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ ।
सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता निर्माण र छलफलकै क्रममा रहेको बताउनुभयो । आयोगका प्रवक्ता पौडेलले आचारसंहितालाई अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयबीच छलफल भइरहेको बताउनुभयो । साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधिनमा रहेर निर्णय गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । कहिलेदेखि लागु हुन्छ भन्नेमा आयोगले निर्णय गरेदेखि लागु हुन्छ । प्रचलित कानुनको अधिनमा रहेर के गर्न सकिन्छ त्यसबारे आयोगले सोचिरहेको छ, तर निर्णय भैसकेको छैन ।’
आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगमन गर्ने व्यवस्था मिलाएको जनाएको छ । , प्रवक्ता पौडेलले भन्नुभयो, ‘आयोगको विश्वास निर्वाचन खर्चिलो हुनुहुँदैन भन्नेछ । त्यसका लागि आयोग आफैले पनि कतिपय खर्च कटौती गरेको छ । यसमा दलहरुले पनि आचारसंहिताको पालना गर्नुपर्छ । निर्वाचन भड्किलो बनाउनुहुँदैन भन्ने कुरालाई सवैले स्वीकार गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्