राजनीति

त्रिविलाई उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गरिन्छ : मन्त्री पौडेल



काठमाडौँ, १ चैत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्ने बताएका छन् ।

आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारको लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बताए ।

उनले भने, ‘सरकारले उच्च शिक्षालाई आमूल रुपमा सुधार गर्ने सङ्कल्प गरेको छ । उच्च शिक्षाको परिक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाई प्रक्रिया, त्रिभुवन विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर यो विद्यालयलाई सेन्टर अफ एक्ससिलेन्सीको रुपमा अगाडि बढाउने शिक्षा मन्त्रालय छलफलमा लागेको छ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई निकै मेहनत गरेर अगाडि बढ्न आग्रह छ ।’

उनले थपे, ‘विश्वविद्यालयमा रहेका समस्या वार्ता, सहमति र सहकार्यमार्फत समाधान गर्ने प्राध्यापक तथा विद्यार्थीको जिम्मामा छ । सबै प्राध्यापक तथा विद्यार्थी संगठनहरुले विश्वविद्यालय सुधार गर्न सहयोग गर्नुहोला र विश्वविद्यालयलाई प्राध्यापक तथा विद्यार्थी वा कर्मचारीका जाहेज मागलाई सम्बोधन गरेर वार्ताको माध्यमबाट समाधान गर्न अनुरोध छ ।’