काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ । साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा छ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने गरी पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ । यस्तै कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन् । केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो ।
कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ । यसैबीच आज चुनावी तालमेलका विषयमा पनि छलफल हुन सक्ने केन्द्रीय सदस्यहरूले बताएका छन् । तर कांग्रेसले लिखित एजेन्डामा भने यो विषय समावेश गरेको छैन ।
देउवाले रिक्त रहेका भातृ संस्थाका नेतृत्वमध्ये नेविसंघ र तरूण दलमा अध्यक्ष तोकेका छन् । केन्द्रीय सदस्य मनोनयन र भातृ संस्था प्रमुख तोक्दा पनि देउवाले परामर्श नगरेको गुनासो कोइराला पक्षको छ ।










प्रतिक्रिया दिनुहोस्