राजनीति

माओवादी छोड्नेहरू पदका लोभी हुन्: शिक्षामन्त्री पौडेल



बागलुङ, १४ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन्।

जैमिनी नगरपालिका बागलुङ पार्टी कमिटीले आइतबार गरेको प्रशिक्षण कार्यक्रममा माओवादी नेता पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको बताए।

माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा आफू अचम्म परेको उनको भनाइ थियो। उनले आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै पहिले माओवादी मजुबत हुने गरी पार्टी सङ्गठन विस्तारमा लागेको बताए।

देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको उनको भनाइ थियो। उनले समाजवादी क्रान्तिका लागि शक्तिशाली पार्टी निर्माणको सङ्कल्प माओवादीले गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका थिए। रासस