राजनीति

मधेस प्रदेशमा चुनाव केन्द्रित रणनीति बनाउँदै दलहरु



काठमाडौँ, २९ चैत । स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन् । यस क्रममा मंगलबार सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठक महोत्तरीको बर्दिबासमा बस्दैछ ।​ बर्दिबासमै नेकपा एमालेको बैठक पनि जारी छ । एमालेले बैठकमा चुनावी रणनीतिबारे छलफल गरिरहेको छ ।

गठबन्धनको बैठकमा भने पालिका कमिटी, जिल्ला कमिटी तहबाट आ–आफ्नो पार्टीबाट संकलित प्रतिवेदनका आधारमा दलहरुले चुनावी तालमेलको खाका निर्माणका लागि छलफल गर्दैछन् । बैठकमा गठबन्धनका घटक नेपाली कांग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सचिव योगकुमार बरबरिया ‘जीवन’, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका अध्यक्ष रामचन्द्र यादव र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता छ ।

आजै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिको बैठक दिउँसो जनकपुरधाममा बस्दैछ । बैठकमा चुनावी तालमेल तथा उम्मेदवार चयनका सन्दर्भमा छलफल हुने लोसपा नेपालका एक नेताले बताए । एमाले र लोसपाले भने उम्मेदवारी छनोट प्रक्रियालाई तीव्रता दिएका छन् । यसबीचमै एमाले–लोसपा गठबन्धन बनाएर मधेस प्रदेशमा चुनावमा जाने सन्दर्भमा समेत छलफल भइरहेको बताइएको छ ।