राजनीति

एकीकृत समाजवादीको बटमलाइन : एमालेले जितेका महानगरसहित ५० प्रतिशत चाहियो



काठमाडौँ, २९ चैत । नेकपा (एकीकृत समाजवादी) ले २०७४ मा नेकपा एमालेले जितेका २९३ स्थानीय तहमध्ये ५० प्रतिशत आफुले पाउनुपर्ने प्रस्तावसहितको ‘बटमलाइन’ अघि सार्ने भएको छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाउने प्रयास भइरहेका बेला नेकपा समाजवादीले औपचारिक रुपमै गठबन्धनको बैठकमा यस्तो प्रस्ताव अघि सार्ने तयारी गरेको हो । गठबन्ध्नका अन्य दलले समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्रका दलहरुले सहमति जनाए १४६ सिट पाउने छ ।

सोमबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले संयुक्त अपिल जारी गर्दै तयारी समेत गर्न आह्वान गरेका थिए । गठबन्धनबीच सवै तहमा चुनावी तालमेल गर्ने भनेपनि तालमेलको ‘मोडालिटी’बारे ठोस निर्णय भैसकेको छैन । गठबन्धनको आज मंगलबार अपरान्ह चार बजे बस्ने बैठकमा तालमेलको मोडालिटीबारे टुङ्गो लाग्ने काँग्रेस नेता तथा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

२०७४ को स्थानीय तहमा सवैभन्दा बढी २९३ स्थानीय तह जितेर नेकपा एमाले पहिलो दल बनेको थियो ।  नेपाली काँग्रेसले २ सय ६६ र माओवादी केन्द्रले १ सय ६ स्थानको नेतृत्वमा जित हासिल गरेर क्रमश दोस्रो र तेस्रो दल बनेका थिए । त्यसैगरी हालको जसपा ( त्यसबेलाको संघीय समाजवादी) ३४ स्थानीय तहको नेतृत्व जितेको थियो  भने जनमोर्चाले ३ र बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले २ स्थानमा जितेका थिए ।