राजनीति

भ्रष्टाचार आरोपमा १४ जना विरुद्ध मुद्दा दायर



काठमाडौँ, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार उनीहरुलाई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार क्षेत्रीय अनुसन्धान केन्द्र तरहरा सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख हाल अवकाश प्राप्त रामदेव पण्डित, सोहि ठाउँका तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्रका निर्देशक कृष्णहरि श्रेष्ठ र लेखा एवं प्राविधिक अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।

चन्दननाथ मावि जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझी, केन्द्राध्यक्ष र परीक्षार्थीसहित ४ जना विरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ । श्री प्राथमिक विद्यालय नरसिंह ५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दाससहित ३ जना विरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप–पत्रमा उल्लेख छ ।