Banner News

गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ : अध्यक्ष ओली



विराटनगर, ३० चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले डस्टबिनमा फाल्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्टबिनमा फाल्नुपर्ने बताए । उनले भने, ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ ।’  उनले दुई चार जना, दुई चार जनाको पार्टी एकातिर वृहत एमाले एकातिर भएर चुनावमा लड्ने बताए । उनले राप्रपा वा अन्य दलसँग पनि निर्वाचनमा मिलेर जान सकिने बताए ।

अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाउने अनि पहिलेको सरकारले गर्दा यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज हुने आशय व्यक्त गरे । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने, ‘त्यस्तो कसैले भनेको हो कि होइन मैले सुनेको छैन, तपाईंहरुबाट सुनेको हुँ, त्यतिसारो भनेको हो भने त्यो मानसिक असन्तुलन भएको हो कि भन्ने सन्देश पैदा हुन्छ ।’