राजनीति

नेता बस्नेतको प्रचण्ड–माधवलाई चेतावनी: तपाईहरुले दिउँसो हैन, रातमा मात्र हिड्ने अवस्था बन्दैछ



नवलपरासी, ५ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले दिउँसो हिड्ने दिनको अन्त्य तथा रातमा मात्र हिड्ने अवस्था सिर्जना हुँदै गएको दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सुनवल नगर कमिटी, नवलपरासीको बृहत् युवा भेला तथा दोस्रो नगर अधिवेशनमा बोल्दै नेता बस्नेतले अब प्रचण्ड, माधव, झलनाथ खनाललगायतका नेताहरु कम्युनिष्ट आन्दोलनका गद्धारहरु अपमान हुने बाहेक अरु केही नभएको भन्दै आक्रोस जनाउनुभयो । कम्युनिष्टको सत्तालाई कांग्रेसको पाउमा पुर्याई प्रचण्ड, माधवलगायतका नेताहरु दक्षीणपन्थी भएको आरोप लगाउँदै नेता बस्नेतले आगामी निर्वाचन नै माओवादी तथा एकीकृत समाजवादी पार्टीको लागि अन्तिम हुने समेत दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माधव प्रचण्डको दिउँसो हिड्ने दिनको समाप्त हुन्छ, राती हिड्ने दिनको शुरुवात हुन्छ । यो निर्वाचन नै अन्तिम सावित हुनेछ । माधव, प्रचण्ड, झलनाथलगायतका नेताहरु क्रान्तिका नायक नभई खलनायक हुन् । अबको निर्वाचनमा खलनायकहरुको अस्थित्व समाप्त हुनेछ ।’

कांग्रेसका नेता तथा कार्यकर्ताको कोखबाट जन्मिदै भ्रष्टाचारको ज्ञान लिएर आएका इतिहास देखिएको उल्लेख गर्दै उहाँले एमालेको नेता, कार्यकर्ता तथा नेतृत्वले भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो । वर्तमान पाँच दलीय गठबन्धन मुलुक र जनताको हितमा नभई एमालेलाई हराउने नाममा राष्ट्रलाई नै हराउने अभियानमा रहेको उल्लेख गर्दै उहाँले गठबनधनको सरकारले एमालेलाई कमजोर बनाउने बहानामा मुलुकको अस्मितालाई नै कमजोर बनाएको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनका दलहरु कहाँ र के गर्दै छन्, त्यो आम नेपाली जनताले बुझ्नुभएको छ । कांग्रेसलगायतका गठबन्धनका दलहरु लोभी, पापी, स्वार्थी, सिद्धान्तहिन, विचारहिन, गतिहिन तथा एमाले हराउने नाममा राष्ट्र हराउने अभियानमा गठबन्धनका दलहरु रहेको छन् । एमालेलाई कमजोर बनाउने नाममा मुलुकको अस्मितालाई कमजोर बनाउनेहरु तथा एमालेलाई बढार्न हिडेका गठबन्धनधारीहरु आफै अब बढारिदँछन् भन्ने प्रष्ट भएको छ ।’

अपमान भन्ने शब्द नै माधव कुमार नेपालसँग गएको उल्लेख गर्दै उहाँले अब एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालार्य सम्मान मात्र हुने दावी गर्नुभयो । जनताको मन मनमा बसेर अतिथि हुनुपर्नेमा जोड दिँदै उहाँले धेरै भाषण गर्नेभन्दा पनि नतिजामुखी तथा जनमुखी कामहरु गरेर अतिथि बन्नुपर्ने बताउनुभयो ।

उक्त अधिवेशनबाट बिनोद पाण्डेको अध्यक्षतामा सर्वसम्मत रुपमा ५१ सदस्य नगर कमिटी गठन समेत गरेको छ । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी परित्याग गरी २१० जना युवाहरु एमालेमा प्रवेश गरेका छन् ।