राजनीति

माओवादीका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग



काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

आज दाङमा पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत त्यागेको बताउनुभयो । उहाँ दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि पार्टी नै छाडेको घोषणा गर्नुभएको हो । उहाँले अब अर्को कुनै पार्टी प्रवेश गर्ने वा नगर्ने भन्नेबारे खुलाउन चाहनुभएन । उहाँ नेता नारायणकाजी श्रेष्ठनिकट हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘मलाई मेयरमा टिकट नदिने भए । माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेको छ । एमसिसी पारित हुँदा पनि म सन्तुष्ट थिइनँ। मैले पार्टीको साधारण सदस्य पनि त्यागेको छु ।’ घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी छ । शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिनुहुन्छ ।