Banner News

भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौँ, ६ बैशाख ।  बैशाख ३० को स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाको अन्तिम टुङ्गो लगाउन आज (मंगलबार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ ।

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताएका छन् । धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनु पर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले जानकारी दिएका छन् । सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।

कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने लगभग सहमति बनेको छ । बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ । पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ । तर त्यहाँ कांग्रेसले पनि दाबी गरेपछि कुरा नमिलेको हो ।