समाचार

टेलिकमले ल्यायो स्प्रिङ अफर



काठमाडौँ, ९ बैशाख । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ ।

टेलिकमले सर्वसाधारणको लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । स्प्रिङ अफरमा कम्पनीले जम्मा ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । अबदेखि जम्मा ९ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनी भित्रको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ । यसका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असिमित कुराकानी गर्न सकिनेछ ।

यी प्याकमा क्रमशः प्रति दिन दुई जिबी र चार जिबी डेटा तथा प्याक अवधिमा चार सय वटा र एक हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । स्प्रिङ अफर अन्तर्गत ग्राहकको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको कम्पनीको भनाइ छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको हो । ग्राहकको रुची अनुसारका केही प्याकको मूल्य अझै कम गरिएको छ ।

कम्पनीका नेटवर्कबाट कुनै पनि नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक जम्मा दुई सय ६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक जम्मा पाँच सय ५० रुपैयाँमा उपलब्ध हुनेछ । यीबाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याक उपलब्ध हुनेछ । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज लिन ग्राहकले ८१४१५३ डायल गर्नुपर्ने हुन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।