Banner News

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फुट्यो



काठमाडौँ, १४ बैशाख । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ ।

पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो ।

कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।  बुधबार  बिहान  कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई  निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।

विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो’, ‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’