Banner News

भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन : अध्यक्ष लिङ्देन



काठमाडौँ, १९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो नलाग्ने बताएका छन् ।

गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताए ।

उनले राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे । ‘राजनीतिलाई सत्ता चढ्ने भर्‍याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छ’, लिङ्देनले भने । देशलाई भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प, दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।  ‘यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन’, उनले भने, ‘तर भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन ।’