समाचार

जीप दुर्घटना अपडेट : मृत्यु हुने तीनै जनाको परिचय खुल्यो



गाेरखा, २० बैशाख । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा साेमवार बेलुकी भएकाे जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार मृत्यु हुनेहरूमा बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती नगरपालिका १४ का ८० वर्षीय उत्तरकुमार सिग्देल र काठमाण्डौ महानगरपालिका १६ बनस्थली बस्ने ४५ वर्षीय पदम न्यौपाने रहेका छन ।

चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गाेरखाबाट चितवन फर्कने क्रममा हिजाे बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको थियो । तीन जना यात्रु चढिसकेपछि अन्य दुई जनालाई चढाउनका लागि सहयोग गर्न जीप चालक सिट बाहिर ओर्लिएका बेला ओरालोमा रोकिराखेको जीप पछाडि सर्दै सडकबाट तल खसेको बताइएको छ ।

जीप चालक भरतपुर महानगरपालिका १८ धर्मपुरका घनश्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेकाे छ । मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।