समाचार

आजको मौसम



काठमाडौँ, २३ बैशाख । नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका अरू भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।