राजनीति

गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा



बैतडी, २६ बैशाख । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा अध्यक्षका उम्मेदवार रानालाई  नियन्त्रणमा लिएको हो ।

अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको छ । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ । डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए ।