Banner News

वैशाख २८ र २९ गते मतदाता शिक्षा दिइने



काठमाडौँ, २६ बैशाख । निर्वाचन आयोगले वैशाख २८ र २९ गते  मतदाता शिक्षा दिने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टाेलीलाई मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउन आयोगले निर्देशन दिएको बताए ।

स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ । आयोगका प्रवक्ता पौडेलले भने, ‘मौसमको सम्बन्धमा हामी चिन्तित छौं ।’ तर, वर्षाका कारण मतदानलाई असर नगरोस् भन्नेमा आयोग सचेत रहेको उनले बताए । ‘हामीले बुझ्दा ३० गते पानी पर्ने सम्भावना रहेको छ’ उनले थपे, ‘हामी व्यवस्थापनमा पनि सचेत छौं ।’

आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ । निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता पौडेलले भने, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’

०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक यही ३० गते देशभर एकै पटक स्थानीय चुनाव हुँदैछ । योपटक ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातालाई वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने छ  ।