समाचार

बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते



सर्लाही, ४ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सर्लाही प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नंको पिकअपले आज विपरीत दिशाबाट गइरहेको ना. ५ ख ५५१५ नंको यात्रुबसलाई ठक्कर दिएको हो । आफ्नै साइडमा गुडिरहेको बसलाई तीव्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो ।

बसले च्यापिएर सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक विदुर निरौलासहित १२ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।