राजनीति

निर्वाचन आयोगले पोखराका मेयरलाई सोध्यो स्पष्टीकरण



काठमाडौँ, १४ जेठ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

‘तपाईंको अभिव्यक्तिहरु नगर प्रमुख जस्तो जिम्मेवार जनप्रतिनिधिलाई सार्वजनिक मञ्चमा बोल्न असान्दर्भिक र अशोभनीय देखिन्छन् ?’ निर्वाचन आयोगले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन ? मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?’