काठमाडौँ, १७ जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन् ।
नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सोमबार उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे । मन्त्री कार्कीले सबैको साझा प्रयत्न र त्यागबाट मुलुकमा विशिष्ट राजनीतिक पद्धति प्राप्त भएको उल्लेख गर्दै यसलाई संरक्षण गरी संस्थागत प्रवद्र्धनमा सबै जुट्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल टिभीका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले टिभीको श्रीवृद्धि र विकास तथा कर्मचारी र पत्रकारको वृत्ति विकासका लागि आफू सदैव लागिरहने उल्लेख गर्दै यसको विकल्प नभएको बताए । नेपाल टिभीलाई बढी विज्ञापन उपलब्ध गराउने सरकारी तथा निजी संस्थालाई सम्मान गरिएको थियो भने नेपाल टिभीमा ३० र २० वर्षसम्म निरन्तर काम गरेका कर्मचारी तथा पत्रकारलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्