राजनीति

अहिलेको बजेटले आर्थिक अस्थिरता ल्याउँछ : नेता ज्ञवाली



काठमाडौँ, १९ जेठ । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७९/८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठक आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै नेता ज्ञवालीले अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने जिकीर गरे ।

उनले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’

नेता ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानीकर्तालाई हतोत्साही बनाइरहेको बताएका छन् । उनले भने, “विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ, तर तपाईंका क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ ।”

ज्ञवालीले पहिले एमसीसी परियोजना गिजोलिएको र अहिले बूढीगण्डकी जलविद्युत् आयोजनालाई गिजोलिरहेको आरोप लगाए । “हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी । पछि के देख्नुभो तपाईंहरूले, सत्ता जान्छ भन्ने ठान्नुभो कि के भयो ? कुरा त जहाँको त्यहीँ छ । पारित गर्नुभयो, धन्यवाद । आज फेरि त्यसैगरी बूढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ?,” ज्ञवालीले प्रश्न गरे ।