काठमाडौँ, २० जेठ । आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई सर्वोच्च अदालतले बुबाकै जिम्मा लगाइदिएको छ ।
निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुबालाई नै लगाइदिएको हो । गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्च अदालतले बुबाको जिम्मा लगाइदिएको हो । भारतमा आमाको संरक्षणमा रहेकी बालिकालाई उनका बुबाले झुक्याएर नेपाल ल्याएका थिए ।
यसरी आफ्नो संरक्षणमा रहेकी छोरीलाई बालिकाको बुबाले झुक्याएर नेपाल ल्याई अमेरिका लैजान खोजेको भन्दै बालिकाकी आमा कनिका गोयल अपहरण तथा शरीर बन्धक र बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत आएकी थिइन् । करिब एक महिना चलेको उक्त मुद्दामा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै बालिकालाई उनकै बुबाको जिम्मा लगाउने फैसला गरेको हो ।










प्रतिक्रिया दिनुहोस्