राजनीति

हदम्याद नराखे मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्छ : सांसद चौधरी



काठमाडौँ, २३ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पुरुषको भावना पनि बुझेर कानुन बनाउनु पर्ने बताएकी छन् ।

आज प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै सांसद चौधरीले हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन् ।

उनले भनिन्, ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६/६ महिनासम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

पछिल्लो समय आएका घटनाहरु पनि उल्लेख गर्दै उनले हदम्यादको आवश्यकतामा जोड दिइन् । ‘पल शाह र ….को कुरा आयो । जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने । आफ्नो स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ?’ उनी थप्छिन्, ‘यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’

महिला भएर महिलाको विरोध गरेको भनेर आफूलाई नभन्न पनि उनको आग्रह छ । ‘मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो कुरा बुझ्नुपर्छ, यो हेक्काका साथ मैले कुरा राखिराखेको छु’ चौधरीले भनिन् ।

महिला हो भन्दैमा महिलाको भावनामात्र बुझ्ने नभएर पुरुषको भावना पनि बुझेर कानुन बनाउनुपर्ने उल्लेख गर्दै उनले आफूले धेरै पुरुषहरू पीडित देखेको बताइन् ।