काठमाडौँ, ३० जेठ । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ ।
सोमवार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनु परेको बताउनुभयो । उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र सडक चर्किसक्दासमेत लापरवाही गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रविधिसँगै रेडियो, टिभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले जोखिम सम्बन्धी पूर्व सूचना प्रशारणका कामलाई राष्ट्रव्यापी बनाउनुपर्ने बताउनुभयो । गृहमन्त्री खाँणले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई साँझ ५ बजेसम्म उपलब्ध गराउन निर्देशन दिए । उनले यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा विपद् सम्बन्धी निकाय र मन्त्रालयहरु कसरी अघि बढ्ने योजना छ भन्ने लिखित योजना पेस गर्न निर्देशन दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्