काठमाडौँ, १ असार । हाल देशको प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।
आज बिहान प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्