राजनीति

निहारिकाको सवालमा तत्काल सरकारले केही गर्न सक्दैन : मन्त्री शर्मा



काठमाडौँ, १ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले निहारिका राजपुतका सम्बन्धमा तत्काल सरकारले केही गर्न नसक्ने प्रस्ट पारेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले निहारिकाको सवालमा उच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै प्रचलित कानुन अनुसार तत्काल सरकारले केही गर्न सक्ने अवस्था नरहेको प्रस्ट पारे ।

उनले भने, ‘निहारिकाको सवालमा अनुसन्धान नभएको होइन, मुद्दा अदालतमा पुगेकै हो, संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको छ । जिल्ला अदालतले गरेको फैसला उपर चित्त नबुझेपछि उच्च अदालतमा मुद्दा परेको छ र उच्च अदालतमा मुद्दा विचाराधीन छ ।’

​अदालतमा विचाराधीन मुद्दाका सवालमा सरकारले केही गर्न नसक्ने उनले बताए । ‘सुरुमा ट्रायल कोर्टले सुनुवाइ गर्ने । जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतमा जाने, त्यो पनि चित्त नबुझे सर्वोच्च अदालतमा पनि जान सकिन्छ,’ उनले भने, ‘उच्च अदालतमा अपिल गरिएको छ । त्यहाँ यो मुद्दा विचाराधीन छ ।’