समाचार

आजको मौसम



काठमाडौँ, २ असार । हाल देशको प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।