विश्व

भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै



एजेन्सी, ३ असार । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ ।

बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका छन ।

उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड गरेका छन् । उत्तर प्रदेशको पूर्वाञ्चलको बलिया जिल्लामा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

अग्निपथ नामक सैनिक भर्ती योजनाको बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाब लगायतका राज्यमा विरोध भइरहेकोे छ । यो योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ति लिइने छ । तर भर्ति गरिएको ४ वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालीन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ।

यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो ।