राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ ।

आइतबारसम्म बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचन मुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापी रूपमा भएका साङ्गठानिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तरक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ रणनीति तयार गर्ने भएको छ ।